Thaha

Sunday 22 September - 10:40 am NST

सरकारलाई प्रभावकारी बनाउन सबै प्रयत्न गर्ने एमाओवादीको निर्णय / उपाध्यक्षको राजीनामा फिर्ता

बैठकको निर्णय सुनाउँदै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ : तस्बीर, सीएम प्रचण्ड डटकमबाट

 काठमाडौं, १४ माघ । सत्तारुढ एकीकृत नेकपा माओवादीले सरकारको काम प्रभावकारी बनाउन सबै खालका प्रयत्न गर्ने निर्णय गरेको छ । 
पार्टीबाट सरकारमा सहभागी मन्त्री र स्थायी समितिका सदस्यको संयुक्त बैठकले कमजोरीबाट पाठ सिक्दै अबको काम प्रभावकारी र परिणाममुखी बनाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौंमा तीन दिनसम्म चलेको बैठकमा अहिलेसम्म आफ्ना मन्त्रीले गरेका काम र सिंगो सरकारको कामकारबाहीको समीक्षा भएको छ । गृह, आपूर्ति, शिक्षा, सामान्य प्रशासनलगायत ८ वटा मन्त्रालय एकीकृत माओवादीका नेताहरुले सम्हालेका छन् । आफ्ना मन्त्रीको कार्यशैली मात्रै नभई सिंगो सरकारको काम परिणाममुखी बनाउने निष्कर्षसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय पनि भएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 
माओावादी अध्यक्ष प्रचण्ड,सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत हुनुहुन्छ । सरकार गठन भएको एक सय दिन पार गरिसकेपछि माओवादीले सरकारको काम, कारबाहीको समीक्षा र भावी रणनीतिबारे छलफल गरेको हो । 
यसैबीच, एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले गठन गरेको सरकार सञ्चालन सहयोग तथा समन्वय समितिको संयोजकबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । स्थायी समितिको आग्रह अनुसार अबको काम गुणस्तरीय र समन्वयकारी रुपमा अघि बढाउने गरी राजीनामा फिर्ता लिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सरकारमा सहभागी पार्टीका मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष श्रेष्ठले पार्टी केन्द्रले जिम्मा लिने गरी भन्दै समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो ।